
त्रिवेणी (नवलपरासी), २९ साउन । पूर्व-पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने खण्डमा भाँसिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबार वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सडक भाँसिएपछि मर्मतका लागि यातायात संचालनमा रोक लगाउनु परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहानदेखि भाँसिएको सडक मर्मत थालिएको र दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ । अहिले सडकमा एकतर्फी मात्रै सवारी संचालन भइरहेको छ । सडक मर्मतमा समय लाग्ने भएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै उक्त सडक खण्डमा हतारिएर यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरेको छ ।
Advertisement

Advertisement
Advertisement

यातायात सञ्चालनमा रोक लगाएपछि पूर्वपश्चिम भएर चल्ने सवारी साधनहरू पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्किवासमा रोकिएका छन् । ६ वर्षअघि स्तरोन्नतिको काम सुरु भएको उक्त सडकखण्डको काम ४७ प्रतिशत मात्र सकिएको छ । तेस्रो पटक म्याद थपेको निर्माण कम्पनीले वर्षाका कारण काम गर्न नसक्ने जनाएको छ ।११४ कि.मि.सो सडकखण्डको अधिकांश स्थानमा छाडिएको काम अलपत्र हुँदा सवारी आवतजावतमा समस्या हुँदै आएको छ । जसका कारण बुटवलबाट नारायणगढ पुग्न लाग्ने २ घण्टाको समयलाई ६ देखि ७ घण्टा लाग्दै आएको छ ।

