
विराटनगर, २९ साउन । प्रहरीले अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोजेका दुई जना बंगलादेशी नागरिकलाई सीमाबाटै फिर्ता पठाएको छ । यस अघि पनि प्रहरीले एक जना बंगलादेशी नागरिकलाई सीमाबाट भारततर्फ फिर्ता पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार भारतको जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न खोजेका बंगलादेशको घाना गोदागरीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता पठाइएको छ । ‘सीमानाकामा चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशी राहदानी फेला पर्यो,’ उनले भने, ‘त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाएका छौँ।’
Advertisement

Advertisement
Advertisement

विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो। केही दिन अघि पनि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको थियो। बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

