


भैरहवा, ३२ साउन । भैरहवा भन्सार कार्यालयले भारतबाट भन्सार छलेर भित्राइएको चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको सहयोगमा मायादेवी गाउँपालिका–३ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा १४७ बोरा (७३५० केजी) चिनी बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बरामद चिनी ५० केजी तौलको बोरामा राखिएको थियो ।
‘हामीलाई प्राप्त सूचना अनुसार चिनी भण्डारण गरिएको घरमा पुग्यौँ’, उनले भने,‘बरामद चिनीको बिल बिजक प्रज्ञापन पत्र माग गर्दा प्राप्त नभएपछि नियन्त्रणमा लिएका हौँ ।’

चार लाख ४१ हजार बजार मूल्यबराबरको चिनी बरामद गरेर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा ल्याइएको उनले बताए । पछिल्लो समय रुपन्देही प्रशासन भन्सार छली विरुद्ध आक्रमक रुपमा उत्रिएको छ ।

