
मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा किसानले लगाएको तरकारी र फलफूल नष्ट गरिएको छ । कोटहीमाई गाउँपालिका–४ बैरघाटका किसान रमेश चौधरीले लगाएको करिब तीन लाख मूल्य बराबरको तरकारी र फलफूल नष्ट गरिएको हो । चौधरीका अनुसार रातिको समयमा अज्ञात व्यक्तिले तरकारी र फलफूलका बालीको जरा काटेर नष्ट गरेका हुन् ।
रोजगारीका लागि सिलसिलमा युवाहरु खाडी मुलुक विदेशिएको अवस्थामा चौधरीले वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको दुई बिघा एघार कठ्ठा कृषियोग्य जग्गा लिजमा लिएर माछापालन र तरकारी खेती गर्दै आएका थिए । तर, ‘सामाजिक अपराधी’ ले उनको मिहिनेतमा छुरा चलाएपछि उनी निराश बनेका छन् ।
Advertisement

Advertisement
Advertisement

‘विदेशमा रोजगारी गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले माछापालनका साथै तरकारी खेती र फलफूलका विरुवाहरु लगाएको थिए’,उनले भने,‘साँझ घर फर्किने बेला सबै तरकारी र फलफूल ठिक थियो तर बिहान हेर्दा जरा काटेर फालिएको अवस्थामा रहेछ । महिनौँको मिहिनेत अपराधीहरुले एकरातमा सखाप पारिदिए ।’
उनका अनुसार कुरिलो, काक्रा, खेखसी, मेवा लगायतका ५२ वटा तरकारी र फलफूलका विरुवाहरुको जरा काटेर नष्ट गरिएको छ । बाली नष्ट गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

