
काठमाडौं, ४ भदौ । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटक कम्पनी लगायत चिनिया पक्षले टिकटक संचालनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने पटक-पटक आग्रह गरेपछि सरकारले फुकुवाको तयारी गरेको हो । टिकटक खुलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताइएको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले ०८० साल कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । टिकटकमा प्रतिबन्ध लगाइएपछि नेपालस्थित चिनियाँ राजदूत छन् सोङले दाहाललाई भेटेर प्रतिबन्धप्रति आपत्ति जनाएका थिए। जवाफमा दाहालले कुनै राजनीतिक अभिप्रायले नभई सामाजिक संवेदनशीलतालाई मध्यनजगर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाएको भनेका थिए।
Advertisement

Advertisement
Advertisement

टिकटकमा प्रतिबन्ध लगाइएदेखि नै चिनियाँ पक्षले खुलाउनका लागि पहल गर्दै आएको थियो। प्रधानमन्त्री ओलीले मातहतका निकायलाई टिकटक खोल्नका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिइसकेको र केही दिनमा टिकटक खुल्ने बताइएको छ । यद्यपी सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन ।
दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो। त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको सरकारको निष्कर्ष थियो।
टिकटक प्रतिबन्ध हुनुअघि सरकार र टिकटकबीच छलफलसमेत भएको थियो। टिकटकको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिलाई डाकेर सरकारले व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव भइरहेको भन्दै आपत्ति जनाएको थियो।
भारतले २०२० मै टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो भने अमेरिकामा सीमित प्रतिबन्ध छ । आधाभन्दा बढी राज्य, संघीय सरकार र सुरक्षा फोर्सले आफ्नो कर्मचारी डिभाइसमा यो एप सञ्चालनमा प्रतिबन्ध लगाएको छ । हाल ३० भन्दा बढी देशमा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध छ ।

