
भैरहवा, ६ भदौ । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार टिकटक कम्पनीलाई तीन महिनाभित्र दिएका सर्तहरू पुरा गर्न भनिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।
सरकार प्रतिबन्ध हटाउने निर्णय गरेपनि टिकटक खुल्न अझै केही समय लाग्ने भएको छ । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हट्ने बताए । मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले ०८० साल कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो । त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको सरकारको निष्कर्ष थियो।

