
भैरहवा, १६ भदौ। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले महिलामा भएका अन्तरनिहीत विभिन्न प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । भैरहवामा यो पहिलो पटक हुन लागेको हो ।
क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका अध्यक्ष ओम जैशीका अनुसार कार्यक्रमबाट बचेको रकमबाट छात्रा शिक्षामा र आईसीयु जडित एम्बुलेन्स खरिद गर्ने लक्ष्य रहेको छ ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रम संयोजक देवी गुरुङ्गले भदौ १७ गते बाट प्रतियोगिताको लागि फारम खुल्ला हुने बताइन् । कार्तिक १ गते देखि १२ गते सम्म रुपन्देही र दाङ जिल्लामा अडिसन राउण्ड संचालन गरिने छ । अडिसन राउण्डबाट छनोट भएका महिलाका लागि कार्तिक २३ गते देखि मंसिर ८ गतेसम्म क्लोज क्याम्प संचालन गरी विभिन्न बिधामा तालिम दिइनेछ । त्यसपछि मंसिर १५ गते भैरहवामा ग्राण्ड फिनाले हुने संयोजक गुरुङ्गले बताइन् ।
आयोजकका अनुसार २० वर्ष उमेर पुगेका र लुम्बिनी प्रदेशवासी रहेको विवाहित महिलाले मात्र प्रतियोगितामा सहभागी हुने पाउने छन् । करिब २३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशबाट करिब ६० जना सहभागी हुने आंकलन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउन सहित नगद ५१ हजार, फर्स्ट रनरअपले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनरअपले क्राउन सहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन ।
छनौटका लागि राष्ट्रिय स्तरको निर्णायाक मण्डलको मूल्यांकनका साथै ग्राण्ड फिनालेमा विभिन्न आधारसहित भ्युअर्स भोटिङलाई पनि आधार मानिने अध्यक्ष जैशीले बताए । ‘हामीले सकेसम्म अन्तर्राष्ट्रिय नभए राष्ट्रिय स्तरसम्मको निर्णायाक ल्याउने छौँ’,उनले भने, ‘प्रतियोगितामा सहभागी महिलाको आफ्नो परिचय प्रस्तुती, प्रतिभा देखि लिएर बौद्धिकतालाई छनोटको आधार मान्ने छौँ । ग्राण्ड फिनालेमा भोटिङलाई पनि आधार मानिने छ ।’
लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले लुम्बिनी प्रदेश विभिन्न समुदायको मिश्रित बसोवास भएको प्रदेश भएकाले सबै सहभागी महिलाको समान सम्मान र मूल्यांकन हुने गरी कार्यक्रम संचालन गर्न सुझाव दिइन् ।

