
मर्चवार, २५ भदौ। भारतमा रोजगारीका लागि जानलागेका रुपन्देही कोटहीमाई गाउँपालिका-३ का १९ वर्षीय धर्मेन्द्र यादवलाई नागरिकता बनाउन छ । उनी रोजगारीमा जानुअघि नेपाली नागरिकको प्रमाणपत्र नागरिकता लिएर जान खोजेका छन् । रोजगारीमा आवश्यक पर्न सक्छ । जसका लागि उनी नागरिकताको सिफारिसका लागि वडा कार्यालयमा धाउन लागेको हप्ता दिन भयो।
तर, उनले सिफारिस पाउन सकेका छैनन् । कागजपत्र अपुग भएर उनले सिफारिस नपाएका होइनन् । वडाअध्यक्ष वष्णु नारायण पाण्डेय कार्यालयमा नआउँदा उनले सिफारिसको साटो सास्ती पाएका हुन् । यादवले सास्ती पाए झै सोही वडाको विमला देवीले पनि सेवा प्राप्तीका लागि वडा कार्यालयमा धाएको चार दिन भयो । उनले जग्गा विक्रीको सिफारिस सम्बन्धी सेवा लिन खोजेकी छिन् । तर, वडा कार्यालयमा वडाअध्यक्ष पाण्डेयको अत्तोपत्तो नहुदाँ उनले पनि चार दिन देखि सास्ती भोग्नु परेको छ ।
Advertisement

Advertisement
Advertisement

यी प्रतिनिधिमूलक उदाहरणहरु मात्र हुन् । वडाअध्यक्ष कार्यालयमा नआउँदा यादव र देवी मात्र नभई अन्य वडावासीहरुले पनि सास्ती भोग्नु परेको वडावासीहरुको गुनासो छ । ‘म रोजगारीको लागि भारत जान लागेको काम गर्नका लागि नागरिकताको आवश्यक छ’, उनले भने, ‘तर नागरिकताको सिफारिस सम्बन्धी सेवा लिनका लागि हप्ता दिन देखि वडा कार्यालयमा धाइरहेको छु । वडाअध्यक्षसगँ भेट नै भइरहेको छैन । वडाध्यक्ष नआएको भन्दै कर्मचारीले सधै फर्काउने गरेका छन्।’
वडाअध्यक्ष कार्यालयमा आफै उपस्थित नभएपनि कार्यवाहक जिम्मेवारी समेत कसैलाई नदिएको कोटहीमाई गाउँपालिका-३ का वडासचिव रामनाथ यादवले बताए । ‘मेरो जिम्मेवारी अनुसारको पन्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धित सेवा दिइरहेको छु। वडाध्यक्ष नआउदा उहाँले दिनुपर्ने सेवा प्रभावित भएको छ’, उनले भने, ‘उहाको आस्थायी घर रहेको भारतको नौतनवा बस्दै आउनुभएको छ।जसकारण सेवा प्रभावित हुन पुगेको हो ।’
केही दिनअघि वडाअध्यक्ष पाण्डेयको छोरा जबरजस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका छन् । सोही समय देखि वडाअध्यक्ष कार्यालयमा नआएको सचिव यादवले बताए । कुनै घटनाले कुनै कार्यालयको सेवा प्रभावित नगर्न युथभिजन क्लबका अध्यक्ष हेमन्त यादवले आग्रह गरे। बलात्कारको घटनामा छोरा आरोपित भएपनि कार्यालयको सेवा रोकिनु उचित नभएको उनको भनाई छ।उनले वडा कार्यालयमा वडाअध्यक्ष जिम्मेवारी अन्र्तगतको सेवा प्रवाह नभए वडावासीहरुले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने बताए ।

