


काठमाडौं,२६भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाँकेका छन् । आज बेलुका पाँच बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको बताइएको छ ।
बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ । परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइ पछि नियुक्ति हुने प्रावधान छ ।
नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

