


भैरहवा,३०भदौ। नेपाली नागरिकहरुमा भएका ज्ञान र सीप समृद्ध देश निर्माणका लागि उपयोग गर्न अभियान चलाइने भएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली नागरिकहरुमा ज्ञान र सीप भएपनि समृद्ध देश बनाउनका लागि राज्यले पहिचान र उपयोग गर्न नसकेको बताए ।
‘हामी नेपालीहरुमा धेरै बुद्धि, ज्ञान र सीप छ । क्षमतावान छौँ तर राज्यले सदुपयोग गर्न सकेको छैन, पहिचान नै गर्न सकेको छैन’, नेपाल-चीन मैत्री समाज लुम्बिनीद्धारा भैरहवामा आयोजित भेटघाट कार्यक्रममा उनले भने,‘अब नेपालका विभिन्न क्षेत्रका विद्धानहरुलाई एकिकृत गरी उनीहरुको बुद्धि, सीप र ज्ञानलाई देश निर्माणमा लगाउने गरी अभियान चलाउने छौँ।’

नेपाल बार एशोसिएसनका पुर्वकेन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले रोजगारी र अध्ययनको सिलसिलमा विदेशिएर फर्किने नेपालीहरुको बुद्धि, ज्ञान र सीपलाई प्रयोग गर्न ‘बुद्धि पसल’ खोल्न जरुरी रहेको औल्याए।

पन्चायतकालमा सामन्तहरुले किसानहरुलाई बनाएका तमसुक च्यात्ने अभियान पुर्वदेखि पश्चिम सम्म चलाएर चर्चित भएका ९८ वर्षीय अधिवक्ता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनमा समेत होमिएका थिए ।
उनले सुर्यबहादुर थकालीले तयार गरेको विश्वकै सबैभन्दा लामो थान्कालाई लुम्बिनीमा प्रदर्शन गर्ने गरी संयोजन गर्न नेपाल-चीन मैत्री समाजका अध्यक्ष नारयण सापकोटालाई जिम्मेवारी समेत दिएका छन् ।
सो अवसरमा बरिष्ठ साहित्यकार विजय सागर, बरिष्ठ अधिवक्ता कमलराज जोशी, नेपाल बार एशोसिएसन रुपन्देहीका अध्यक्ष लय भट्टराई, नेपाल च्याम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिम बहादुर खत्री लगायतले बरिष्ठ अधिवक्ता भण्डारीलाई भैरहवामा सम्मान गरेका थिए ।

