


भैरहवा,३१ भदौ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जन्मोत्सव (मोहम्मद जयन्ती) मुलुकभरका साथै भैरहवामा पनि हर्षोल्लासका साथ मनाइँदैछ ।
भैरहवा क्षेत्रवासीले मुलुकको सम्वृद्धिको कामना गर्दै मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाइरहेका छन् । जयन्तीको अवसरमा यस क्षेत्रमा सोमबार विशाल र्याली निकालिएको छ ।


मुस्लिम सामुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा मिलन चोकबाट सुरु भएको र्याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोड लगायतका स्थानमामा परिक्रमा गरिएको थियो ।
हजारौँको संख्यामा निकालिएको र्यालीमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर इश्तियाक अहमद खाँ, प्रदेश सांसद सन्तोष पाण्डेय, मौलाना फैजुल्लाह मुसलमान, समाजसेवी फकरुद्दीन खान, रोहिणी गाउँपालिका–१ का वडाअध्यक्ष आबिद पठान, फैज अहमद खान, अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटीका अध्यक्ष मोहम्मद फिरोज, मोहम्मद अकिल, मोजिब अली, उमर बादशाह खान, मोहम्मद अली लगायतको सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीहरुले राष्ट्रिय झण्डा, धार्मिक वस्त्र, धार्मिक झण्डा सहित जन्मोत्सवको खुशीयालीमा नारा लगाएका थिए । मेयर खान लगायतले सर्वसाधरणहरुलाई भेटघाट गरी मोहम्मद जयन्तीको शुभकामना दिए ।

भैरहवा स्थित रहमानिया मस्जिदमा आयोजना गरिएका कार्यक्रममा सहभागी वक्ताहरुले सरकारसँग मोहम्मद जयन्तीको दिनमा पूर्ण रुपमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनु पर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा दिनुपर्ने लगायत माग गरेका छन्। जयन्तीको अवसरमा सिद्धार्थनगर नगरपालिकाले स्थानीय विदा दिएको छ भने संघिय सरकारले मुस्लिम सामुदायलाई मात्र विदा दिएको छ । उपस्थित सहभागीहरुले संयुक्त रुपमा मुलुकको सम्वृद्धिको लागि प्राथना गरेका छन् ।
र्यालीमा सहभागी सर्वसाधरणहरुलाई पानी, मिठाई, बिस्कुट वितरण गरिएको सलिम शेखले बताए।र्यालीको क्रममा भएका फोहोर मेराज खानको नेतृत्वमा सहभागी युवाहरुले आफै उठाएर सफा गरेका छन् ।

हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा आमा आमिनाको कोखबाट भएको बताइन्छ । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइ दिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
हजरत मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणिको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसियालीमा इस्लाम धर्मालम्वीहरुले जश्ने ईद मिलादुन्नबी (रविउल्ल अवल) को रुपमा मनाउने गर्दछन् ।











