

दाङ,३१ भदौ। लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।
प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।
Advertisement

Advertisement
Advertisement
प्रदेश मामिला तथा कानुन समितीका सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितीले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकमा पेश भएको थियो ।
०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए।
यसैविच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारीस गरेको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बस्यो भने प्रदेशसभाबाट स्थानीय सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्चका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।





