


दाङ,३१भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको उज्जवल भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन्।
प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए।

‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ। अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उनले भने,‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’
नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल र सदस्यहरु डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवी ढकालले पद तथा गोपनियताको शपथ लिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमवार मुख्यमन्त्री आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। उपाध्यक्ष अर्यालले सदस्य डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवी ढकाललाई शपथ ग्रहण गराए।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसुची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्ष समक्ष र सदस्यहरुले उपाध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

