
दाङ,५असोज। वन्यजन्तुहरुको बासस्थान मासिदैँ जान थालेको छ । जसकारण पछिल्लो समय मानव र वन्यजन्तु द्वन्द्वका घट्नाहरु बढ्दै गएका छन् । बासस्थानको अभावमा उनीहरु मानव बस्तीमा पस्न थालेका छन्। बासस्थानमा रहेर आफ्नो आहाराको सहाराले जीवनयापन गर्दै आएका वन्यजन्तुहरुको बासस्थान मासिँदै गएपछि वासस्थान र आहाराको खोजीमा उनीहरु मानववस्तीमा पस्न थालेपछि दुवै असुरक्षित भएका छन् ।
दुवै असुरक्षित भएपछि लुम्बिनी प्रदेश सरकारले मानव र वन्यजन्तुबीचको द्धन्द्धको न्यूनिकारणका लागि योजना बनाएर अघि बढेको छ। योजना अनुसार वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका कार्यहरु गरिएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार गत आर्थिक बर्षमा ३१ वटा पानीका मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनाइएको छ।
‘वन्यजन्तुलाई वनमै राख्नका लागि पानी खोज्दै मानव बस्तीमा जान नपरोस र पानीको स्रोत पनि संरक्षण गर्ने उद्देश्यले हामीले पोखरीहरु बनाएका हौँ’,उनले भने, ‘यसले सर्वसाधरण वनमै रहने र मानव तथा वन्यजन्तुबीचको द्धन्द्धपनि घटाउने विश्वास लिएका छौँ।’
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०/०८१ मा पाँच जना सर्वसाधरणको मृत्यु भएको र ८ जना घाईते भएका छन्। एक बर्षको अवधिमा भेडारबाख्रा २१७, गाई-भैंसी ३१, बंगुर ४५, हाँस-कुखुरा १८१ वटा र स्याल, चितुवा, वनविरालो, निलगाइ, अजिङ्गर, बँदेल, बाँदरगरी ४१ वटा बन्यजन्तुको मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाईते भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तु मैत्री पूर्वाधर निर्माण आवश्यक भएकाले सबै पक्ष संवेदनशिल हुनुपर्ने बताउँछन्। प्रदेश सरकारले मानव र वन्यजन्तु द्वन्द्व न्यूनिकरणका उपायहरु खोजेर त्यसमा प्राथमिकता निर्धारण गर्न अपिल गरेको छ ।
मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न प्रदेश सरकारको एकल प्रयासले मात्र नहुने र यसका लागि सरोकारवालहरुबीचमा सहकार्य हुनुपर्नेमा उनले जोड दिए।
किन बढ्दैछ मानव र वन्यजन्तुबीच द्वन्द्व ?
लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापनको क्षेत्रमा अध्ययन समेत गरिएको छ । ०७८ सालमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा वन्यजन्तुको वासस्थान, आहार, विचरण लागयतका पक्षसँग मानवीय क्रियाकलापहरू प्रतिस्पर्धा गर्न वा बाझिन आइपुग्दा त्यस्ता क्षेत्रमा मानव र वन्यजन्तु द्वन्द्व उत्पन्न भएको उल्लेख छ।
जनसंख्या वृद्धिसँगै वन्यजन्तुहरूको प्राकृतिक आहार र वासस्थानको खण्डिकरण तथा संकुचन भएकाले उनीहरू खाना र बासको खोजीमा मानवका खेती तथा बस्तीमा प्रवेश गर्दा मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढिरहेको उल्लेख छ।
हाल सामुदायिक वन मार्फत वनक्षेत्र पुनस्र्थापना हुँदै जाँदा पछिल्ला वर्षहरूमा वन्यजन्तुको पुनरागमन भएका कारण यो द्वन्द्व थप बढ्दो प्रतिवेदनमा समेटिएको छ। वनक्षेत्रमा पछिल्लो दुई दशकयता सामुदायिक वनको व्यवस्थापन मार्फत वन क्षेत्र विस्तार तथा वृद्धि, वन्यजन्तुको वासस्थानमा सुधार र सहभागीतात्मक चोरी सिकारी नियन्त्रण लगायतका कामहरूबाट वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको पाईएको छ ।

