


काठमाडौं,२० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रको रुपमा रहेको उल्लेख गरे।

भेटप्रति खुसी व्यक्त गर्दै मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्। साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रुपमा सहमत रहेको बताएका छन्।
‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

