


काठमाडौं,६असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई पक्राउ गरिए त्यसको प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।
गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि पार्टीको केन्द्रीय कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने-‘बचत फिर्ता गराउनेमा ध्यान छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ। जुन हामी हुनै दिदैनौ। कुनै हालतमा हुन दिदैनौ।’

उनले आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका छन्। ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’
सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बटताए । उनले भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’
उनले कसैको राजनीति जोगाउन यस्तो गरिएको दाबी गरे । ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने ।
लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे । ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भने ।

