


काठमाडौं, ८असोज। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। प्रसाईंको स्वास्थ्य अवस्थाको कारण देखाउँदै सोमबार उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई रिहाइ गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण पनि सोधेको छ। प्रसाईंले आफूलाई गैरकानुनी रुपले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए।

आइतबार साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

