


काठमाडौं,८असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीले छठपर्व पछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरूले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने बताएका छन्।
राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दालाई स्थापित गराउन छठपर्व पछि काठमाडौंमा सातदेखि दश दिनसम्म निरन्तर आन्दोलन गर्ने बताए। उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान विचार भएकाहरूलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए।

आन्दोलनलाई निष्कर्षमा नपुर्याएसम्म आफ्नो मुद्दाहरु स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो।

