
परासी,१२असोज। नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएका छन्। गण्डक बाँधमा पानीको सतह ५ लाख ७४ हजार क्यूसेक पुगेको छ। यो खतराको तह पार भएको अवस्था हो।
पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ।
Advertisement

Advertisement
Advertisement

४ लाखभन्दा बढी पानीको सतह भएपछि खतराको लेबल मानिने नेपाल गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तीलकराम बुढाथोकीले बताए। नारायणी नदीमाथी निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।
यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। बाँधको कारण पूर्वी र पश्चिम नवलपरासीका ३० बढी गाउँ जोखिममा पर्छन्। दुई दिनसम्म परेको निरन्तरको पानीले जिल्लामा अहिलेसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्।
यद्यपि सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको श्रेष्ठले जानकारी दिइन्।

