
भैरहवा,१२असोज। निरन्तर वर्षाका कारण लुम्बिनी प्रदेशका साथै मुलुकको विभिन्न क्षेत्रमा विपद् निम्तिएको छ। ठाउँ ठाउँमा पहिरो खसेको छ। सडकखण्डहरु अवरुद्ध भएका छन् । नदीमा मानिस बेपत्ता हुने देखि लिएर वर्षातको विपद्का कारण मृत्यु समेत भएको छ। विपद्बारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले बैठक डाँकेका छन्।
यस्तै लुम्बिनी प्रदेशका पनि पहिरोले विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरीले कार्यालय गुल्मी डीएसपी शंकर पोखरलेका अनुसार पहिरो खस्दा गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ । तम्घास‐रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका-४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका-३ अन्तर्गत लुम्छामा पनि सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । नरपानी, घुम्ती, दहखोला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन काफ्लेले बताए ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक भासिएर अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पहाडी जिल्ला प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्युठान विभिन्न ग्रामीण ठाउँमा जाने सडकहरू अवरुद्ध भएका छन् ।
यता पाल्पाको तिनाउ गाउँपालिका-३ केराबारीमा पहिरोले अवरुद्ध भएको सडक कार्यालयले डोजर प्रयोग गरेर खुलाइएको प्रहरीले जनाएको छ ।

