


भैरहवा,१३असोज। नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वका लागि आइतबार (आज) देखि सुकिला नोट सटही सुविधाको सेवा सुरु गरेको छ। बैंकले असोज १३ गते देखि असोज २२ गतेसम्म रुपैयाँ ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ सटही गर्न सकिने जनाएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। सर्वसाधरणहरुले नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय सिद्धार्थनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, धनगढी र पोखराबाट सुकिला नोट सटही गर्न सक्ने बैंकले जनाएको छ।

साथै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दसैंका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको हो।

