


भैरहवा,१६ असोज। बुधबारदेखि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै बागमती र कोशी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको हो।

‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरे। प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउँदै ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

