
खोटाङ,६ कार्तिक। खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरी भन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई पुरस्कार दिने भएको छ।
नगरपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि परम्परगत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पुरस्कार दिने भएको हो । प्रोत्साहन स्वरुप किसानलाई रकम उपलब्ध गराइनेछ।
Advertisement

Advertisement
Advertisement

सुक्खाग्रस्त क्षेत्रको उक्त नगरपालिका मात्रै बदामखेती हुने गर्दछ । जसलाई प्रवद्र्धनका लागि नगरपालिकाले योजनाले ल्याएको हो।
नगरपालिकाले पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सयका दरले दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप तीन सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जनाएको छ।
नगरपालिका क्षेत्रमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन्।
नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको छ। करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।
नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ ।

