
नुवाकोट, ७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको सम्बोधन गर्दै उनले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे।
Advertisement

Advertisement
Advertisement

उनले पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र आनकानी नगर्न पनि आग्रह गरे ।
डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भने, ‘बर्षामान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नुभयो त जानकारी पाउन पाए हुन्थ्यो ?’
नेता महतले काम गर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनतालाई भुक्याएर राजनीति नगर्न पनि चेतावनी दिए । उनले कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि निर्देशन दिए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलिया, पूर्वअध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापा लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।
डा. महतको पहलमा उक्त सडक निर्माणका लागि संघीय सरकारको अनुदानमा कालोपत्रे गर्ने काम सुरु भएको हो । एक वर्षभित्र सडकको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

