


दाङ,१३ कार्तिक। लुम्बिनी प्रदेश सरकारले दाङस्थित प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दहलाई पर्यटन सर्किटसंग जोड्ने योजना अनुरुप त्यहाँ भौतिक पूर्वाधारको निर्माण थालेको छ।
मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य त्यहाँ निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकन गरेका छन्। साथै, उनले स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरु संग छलफल समेत गरेको बताइएको छ ।

सरकारले प्रदेशमा रहेको पर्यटकीय क्षेत्रलाई पर्यटन सर्किटको रुपमा निर्माण गरेर एक आपसमा जोड्ने संकल्प लिएको छ। जसअनुसार बाह्रकुने दहसहित विभिन्न पर्यटकीय क्षेत्रमा विकासका कार्यहरु भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउने गरी प्रदेश सरकारले पर्यटन सर्किटको अवधारणा अघि सारेको हो।

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित रहेको बाह्रकुने दहमा १२ वटा कुनाहरु भएकोले उक्त स्थलको ‘बाह्रकुने दह’ नामकरण भएको बताइन्छ। धार्मिक एवम् पवित्र स्थलको परिचित बाह्रकुने दहमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ।

