


भैरहवा,२४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पनि उडानको सुरुवात गरेको छ ।
शनिवार दिउँसो २:३५ बजे १५९ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गरेको र त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

फ्लाई दुबईको उडान भोली आईतबारको भएतापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताईएको छ ।
विमानस्थलबाट शनिवारदेखि एकैदिन नेपाल एयरलाइन्स, जजिरा एयरवेज र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दैछन् । जजिराले शनिवार बिहान भैरहवा आएर यहाँबाट कुवेतको लागि उडान भरिसकेको छ भने नेपाल एयरलाइन्सले राति भैरहवाबाट उडान गर्ने सूचना अधिकारी राउतले बताए ।
‘भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरुको सुरुवात हुनु हामी सबैको लागि खुशीको विषय हो’ भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ ।’

शनिवार राति देखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको उनले बताए ।
उनका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्ह देखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने तालिका छ । यस्तै थाई एयर एशियाले साताको सोमबार र बिहीवार एक उडान र जजिरा एयरवेजले साताको तीन दिन मंगलबार, बिहीवार र शनिवार उडान गर्नेछन् ।
हाल विमानस्थलबाट चार वटा वायुसेवा कम्पनीले सुरुवात गरेपनि सरकारले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई पनि विमानस्थलमा ल्याउनुपर्ने व्यवसायी गुप्ताको भनाई छ ।

