


राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक विपन्न महिलाले सडकपेटीमै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान प्रसव पीडा सुरु भएपछि मंगलबार राति श्रीमान् र आफन्तसँगै अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार, अस्पतालमा अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षण गर्न करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताइएको थियो। रकम अभाव भएपछि परीक्षण नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूहरुलाई अस्पतालबाट बाहिर निकालिएको पीडित परिवारको दाबी छ।

त्यसपछि अस्पताल परिसरबाहिर औषधि पसलनजिकै बसेकी ववितालाई प्रसव पीडाले च्यापेपछि बाध्यताबस सडकपेटीमै छोरालाई जन्म दिइन्। छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि स्वास्थ्यकर्मीले भर्ना नलिएको वविताको दाबी छ।
विपन्न महिला प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ। दोषीलाई कारबाही गर्नुपर्ने माग सांसदमा समेत उठेको छ।
अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले भने वविता अस्पताल आएपछि प्रारम्भिक जाँच गरी थप स्वास्थ्य परीक्षणका लागि ल्याब पठाइएको र परिवार ल्याबबाटै बाहिरिएको दाबी गरेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे भिडियो हेरेपछि जानकारी पाएको बताएका छन्। उनले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित संख्यामा शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सरकारी अस्पतालकै अगाडि महिलाले सडकमा प्रसूति हुनुपरेको घटनाले स्वास्थ्य सेवामा पहुँच र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

