


कपिलवस्तु,२५ भदौ। कपिलवस्तुको पुरातात्विक सम्पदा तिलौराकोटको संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातत्व विभागले अधिग्रहण प्रक्रिया अघि बढाएको हो।
किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष र अन्य पुरातात्विक अवशेष फेला परेपछि ती क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ (ख) र मालपारा–४ (क) अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ। जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई सूचना जारी गरी प्रक्रिया अघि बढाइएको छ।
थप जग्गा अधिग्रहणपछि तिलौराकोट क्षेत्रका पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान तथा संरक्षणसँगै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने विभागको विश्वास छ।

