
भैरहवा,२८ कार्तिक । सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसगँ बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भैरहवा ल्याएर बयान लिएको हो ।
Advertisement

Advertisement
Advertisement

सभापति लामिछानेसगँ जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
बुधवार बयान लिदै गर्दा रातपरेपछि बिहीवार बिहानसम्मका लागि बयान स्थगित गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । बयानलाई अन्तिम रुप दिन र प्रश्नको नम्बरिङको कार्य बाँकी रहेकोले बिहीवार बिहानदेखि पुनः लामिछानेसगँ बयान लिइने उनले जनाए ।
सहकारीको रकम ठगी आरोपको विषयमा केन्द्रित रहेर ५० बढी प्रश्नहरु सोधिएको र उनले जवाफ दिएको स्रोतले क्लिक लुम्बिनीलाई बतायो । बिहीवार बिहानसम्मका लागि बयान स्थगित भएपछि लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

