
भैरहवा, ३० कार्तिक । थारु समुदायहरुको राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ । सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा महाधिवेशन हुने जनाएको छ ।
‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबार (भोली) देखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने बताइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महाधिवेशनमा थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया , भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधि/पार्षद्हरुको सहभागीता रहने सभाले जनाएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विद्यान संशोधन, कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित आगामी भावी नीति तथा कार्यक्रमहरु तय गरी पारित गर्ने सभाका कार्यवाहक अध्यक्ष चौधरीले बताए । लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहेका उनले सरकारले टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।
‘सरकारले ट्रंक तथा डेटिकेटेड लाइन विवाद सम्बन्धि जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्छ’,उनले प्रश्न गर्दै भने,‘तर, टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । किन सार्वजनिक गर्दैन? त्यसमा के छ त्यस्तो ? सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।’
सभाका सह–महामन्त्री मिनराज चौधरीले संविधानका ४२ धारा आफुहरु असहमती रहेको भन्दै सरकारलाई खबरदारी गर्नका लागि पनि महाधिवेशनको लक्ष्य रहेको बताए । उनका अनुसार महाधिवेशनको कार्यक्रम अन्तर्गत मंसिर १ गते शनिबार बिहान ९ बजे बुद्धचोकबाट पटवा बैंक्वेटसम्म झाँकी र्याली प्रदर्शन गरिने र दिउँसो १ बजे उद्घाटन हुनेछ ।
सभाका केन्द्रीय उपाध्यक्ष विष्णु चौधरीले थारुको हकअधिकारका लागि आवाज उठाउँदै आएको बताइन् । सभाले महाधिवेशन पश्चात सिद्धार्थनगर रुपन्देही घोषणा पत्र समेत जारी गर्ने जनाएको छ ।

