
भैरहवा, ६ मंसिर । भैरहवा क्षेत्रमा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालयले उद्योग लगायत क्षेत्रमा आउने सक्ने विपद्लाई न्यूनीकरण गर्ने सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यालयले शुक्रवार सेजमा रहेका उद्योगका प्रबन्धक, कर्मचारी समेतको सहभागितामा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन अभिमुखीकरण कार्यक्रम गरेको हो ।कार्यक्रममा कर्मचारीहरुलाई विपद्को जोखिम, पूर्वतयारी, न्यूनिकरण तथा व्यवस्थापन लगायतमा विषयमा प्रशिक्षण दिइएको थियो ।
Advertisement

Advertisement
Advertisement

सेजको उद्योगहरुमा रहेका कर्मचारीलाई विपद् न्यूनीकरणका लागि अभिमुखीकरण र पूर्वतयारी गराउन आवश्यकता देखिएकोले सचेत गराउनका लागि प्रशिक्षण दिइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवा कार्यालयका प्रमुख सहायक निर्देशक इन्जिनियर सबुद डुम्रेले बताए ।
‘उद्योग क्षेत्रमा कुनै विपद् आइहाल्यो भने के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? न्यूनिकरण कसरी गर्ने ? लगायतमा विषयमा उद्योगका कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ’, उनले भने ।

विपद् जोखिम न्यूनीकरणका लागि भैरहवा सेजका प्रमुखको संयोजकत्वमा सबुद डुम्रेको संयोजकत्व र सेजको सशस्त्र प्रहरी बलका प्रमुख सहसंयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको छ । जसमा हाल संचालनमा रहेका ९ वटा उद्योगका प्रतिनिधि सदस्य छन् ।
‘यहाँ रहेका उद्योगहरुमा अधिकांश रोहिणी नदी किनारमा रहेका बस्तीमा बसोबास गर्ने कर्मचारी छन्’ उनले भने, ‘प्रशिक्षणमा दिइएको सन्देश कर्मचारी मार्फत गाउँ गाउँसम्म पुग्ने र सर्वसाधरणहरु पनि सचेत हुने विश्वास लिएका छौँ ।’
भैरहवा सेजको ६८ वटा प्लट मध्ये ३१ वटा प्लटमा उद्योग संचालन/निर्माण भइरहेका छन् । जसमध्ये हाल ९ वटा उद्योग संचालन छन् भने एउटा उद्योगको निर्माण कार्य सुरु भएको कार्यालयले जनाएको छ । कार्यक्रममा भैरहवा सेजमा कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी, उद्योगका प्रबन्धक, कर्मचारी लगायतको उपस्थिती थियो ।

