


हृदयराम गुप्ता
मर्चवार, १० मंसिर । रुपन्देहीको ईलाका प्रशासन कार्यालय मझगाँवामा कार्यालय प्रमुख नहुँदा विभिन्न सेवा रोकिन पुगेको छ । गत असोज १० गते कार्यालय प्रमुख शोभा पाण्डेयको सरुवा भएपछि उनको स्थानमा कसैलाई जिम्मेवारी प्रदान नगर्दा कार्यालयबाट प्रवाह हुने गरेको सेवाहरु रोकिन पुगेको हो ।

मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाबासीहरुले उक्त कार्यालयबाट नागरिकतासहित सेवा लिदै आएको थिए । तर, कार्यालय प्रमुख नहुदाँ उनीहरुले सास्ती खेप्नु परेको छ । कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा बन्द भएपछि कार्यालयका कम्प्युटर अपरेटर विजय कुमार यादव समेत जिल्ला प्रशासन कार्यालयमा पुगेर कार्य थालेका छन् ।
ईलाका प्रशासन कार्यालय मझगावाँमा हाल १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटर, राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी २ जना र २ जना कार्यालय सहयोगी छन् ।
‘बिहान आएर हाजिर गरेर दिन बिताइरहेका छौं । कार्यालय प्रमुख नभएकोले नागरिकता लगायतका सेवा प्रवाह रोकिएको छ’, कार्यालयमा कार्यरत एक कर्मचारीले भने, कतैबाट कुनै अभिलेखको जानकारीको पत्र आए मात्र सो विवरण पठाउने र राष्ट्रिय परिचयपत्रको सेवा दिइएको छ । तर, अन्य कुनै पनि सेवा दिइएको छैन ।’
छोराको नागरिकता बनाउन आएका कोटहीमाई १ का पर्शुराम यादवले सेवा नपाई घर फर्केको गुनासो गरे । उनले भने ‘भारतको मुम्बई शहरमा छोराले काम गर्दछ । खेतीपति गर्न घर फर्केको बेला छोराको नागरिकता बनाउ भनी ईलाका प्रशासन कार्यालय मझगावाँ जाँदा त्यहाँ कार्यालय प्रमुख नभएकोले नागरिकता बनाउन भैरहवा जानुपर्ने सुनेपछि मन खल्लो भयो ।’
उक्त कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा लिनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही, भैरहवा धाउनुपर्ने बाध्यता रहेको मर्चवारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसेवक खरबिन्दले बताए ।
‘नागरिकता बनाउन, मधेशी प्रमाणित लगायत विभिन्न सेवाको लागि मर्चवारबासीहरु यतिबेला भैरहवा जानुपर्ने बाध्यता छ । अभिलेखमा जसको कुनै त्रुटी भएको छ भने त्यो कार्य पनि भएको छैन’, उनले भने,‘सेवा लिन मर्चवारबाट भैरहवा पुग्नुपर्ने र अधिक समय समेत खर्चिनुपरेको र कुनै कागज प्रमाणमा समस्या भए सो दिन सेवाबाट सेवाग्राही वञ्चित हुने गरेका छन्,।’
उक्त कार्यालयमा आवश्यक बजेट वडा कार्यालयबाट दिन तयार रहेको र छिट्टै कार्यालय प्रमुख व्यवस्थापन गरी सेवालाई निरन्तरता दिन उनले आग्रह गरे ।
मर्चवार क्षेत्रबासीहरुले जिल्ला प्रशासन कार्यालय भैरहवा सेवा लिन जान थालेपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर काम थालेको कम्प्युटर अपरेटर विजय कुमार यादवले बताए ।
‘कार्यालय प्रमुखको सरुवा भएपछि अत्यावश्यक कामका लागि मर्चवारबासी जिल्ला प्रशासन कार्यालय भैरहवाबाट सेवा लिन जान थालेपछि यहाँ भैरहवा आएको छु’, उनले भने,‘मेरो सरुवा भएको छैन । मझगाँवामा सेवा सुरु हुनासाथ पुनः सोही कार्यालयमा फर्किनेछु ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ईलाका प्रशासन कार्यालय मझगाँवामा सेवा सुचारु गर्न छिट्टै कार्यालय प्रमुख पठाउने बताए ।
उनले भने,‘त्यहाँ कार्यालय प्रमुख रुपमा खटी कामकाज सुचारु गर्न गृह मन्त्रालयमा आग्रह गरेको छु । उक्त कार्यालयमा हाजिर हुने दिन निश्चित भएको छैन । तर, छिट्टै कर्मचारी आउने आश्वासन पाएको छु ।’ कुनै अत्यावश्यक कार्य भए जिल्ला प्रशासन कार्यालय भैरहवाबाट सेवा प्रवाह भइरहेको र सेवा लिन सकिने उनको भनाई छ ।

