
भैरहवा, ११ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले वार्षिकोत्सव तथा दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर १४ गते लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्न लागिएको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
२०औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७औं सभाको बैठक गरिने विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिए । लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने वार्षिकोत्सव, विशेष दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता–प्रमुख आतिथ्यतामा हुनेछ। सभाको बैठक भने विश्वविद्यालयको सिनेट हलमा हुने बताइएको छ।
Advertisement

Advertisement
Advertisement

उनले विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित हुने र विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गर्न लागेको बताए ।
बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने जनाइएको छ । ‘दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ’, उनले भने ।
विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा सामाजिक क्रियकलाप अन्तर्गत प्रत्येक वर्ष गर्दै आएको रक्तदान कार्यक्रम यस पटक मंसिर १३ गते बुटवल सिटी क्याम्पस बुटवलमा आयोजना गरिएको उनले जनाए।
तालिका अनुसार मंसिर १५ गते ‘शान्ति निर्माण र दिगो विकासका लागि गौतमबुद्धका शिक्षाहरु अन्वेषण’ विषयक अन्तर्राष्ट्रिय सेमिनार हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले बताए ।
मंसिर १६ गते देवदहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुनेछ । ‘यसरी विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा विशेष दीक्षान्त समारोह सम्पन्न हुनेछ’, उनले भने, ‘स्थानीयको सहभागिता विश्वविद्यालयको थप प्रचारका लागि पनि हामीले यसपटक कार्यक्रमलाई विगतभन्दा अझै बृहत् बनाएका छौं ।’
भगवान् गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न २०६१ साल मंसिर १४ गते विश्वविद्यालयको स्थापना भएको हो ।
२०८० देखि ०९० को दशकलाई ‘अवको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडि बढाइरहेको छ । विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ती शैक्षिक कार्यक्रमहरुमा २३०८ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालयमा अध्यनरत रहेको विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए।
उनका अनुसार विश्वविद्यालयका लुम्बिनी, बुटवल, देवदहमा आंगिक क्याम्पसहरु सञ्चालनमा छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।
विश्वविद्यालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानलाई जोड दिने नीति १६ औं सभाको बैठकबाट लिएकाले त्यसको कार्यान्वयनमा काम भइरहेको सूचना अधिकारी पोखरेलले बताए। ‘अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरु प्रकाशित हुँदै आएका छन्’, उनले भने ।

