
भैरहवा, १२ मंसिर। रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो ।
यस खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ पनि ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अन्य टिम भने ‘बी’ डिभिजनमै रोकिएका छन् ।
Advertisement

Advertisement
Advertisement

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय २७ रनको योगफल बनायो । उसका लागि सुरज सारुले अविजित ३७, अपर्ण तिमिल्सिनाले १८, विपिनविक्रम शाहीले १६ र सनित श्रेष्ठले १२ रन बनाए । बलिङमा स्टार क्रिकेटका क्रिविन श्रेष्ठले ३ तथा शुभम खनाल, निरज मौर्य र राहुल नाउले समान २–२ विकेट लिए ।
जावाफी ब्याटिङ गरेको स्टार क्रिकेट क्लब ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९४ रनमै अलआउट भयो । उसका लागि शुभम खनालले २०, राहुल नाउले १७, करम खानले १२ र राहुल वली क्षेत्रीले १० रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टिम पराजित हुन पुग्यो । उसलाई सस्तैमा समेट्नका लागि बुटवल राइनोजका शुभम घमालले ३, विपिन विक्रम शाही र सुप्रिम कँडेलले २–२ तथा सुरज सारु र शिव कुँवरले १–१ विकेट लिन सफल भएए । खेलमा बुटवल राइनोजका सुरज सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी मध्ये १० टिम ‘बी’ डिभिजनमै रोकिँदा बाँकी १० टिम भने नेपाल सुपरलिगपछि आयोजना हुने ‘ए’ डिभिजनका खेलहरुमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

