
भैरहवा, १७ मंसिर । रुपन्देहीको भैरहवामा संचालनमा नौ लुम्बिनी राष्ट्रिय महोत्सवमा ४० जिल्लाका उत्पादन देखिने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना गरेको महोत्सवमा ४० बढी जिल्लाबाट उद्योगी–व्यवसायी, कृषक र संघसंस्थाले अआफ्नो उत्पादन देखाउने भएका हुन् ।
जसका लागि महोत्सवमा रहेको तीन सय स्टल बुकिङ भइसकेको संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समिति सह–संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार आफ्नो उत्पादन तथा सेवाको बिक्री बितरण तथा प्रचारप्रसार गर्न हिमाली तथा पहाडी जिल्लाका कृषक र निजी व्यवसायीको समेत महोत्सवमा स्टल बुकिङ राम्रो छ । आर्थिक मन्दीले निजी क्षेत्रका व्यवसायी निराश भएको अवस्थामा उक्त महोत्सवमा भने उद्यमी व्यवसायीको बढ्दो आकर्षण र सहभागिताले आयोजक उत्साहित छन् ।
महिला उद्यमी, हस्तकलालाई स्टलमा ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ ।
संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले काठमाडौं, पोखरा, चितवन, झापा, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बुटवल, भैरहवा, पाल्पादेखि कर्णाली प्रदेशका जिल्लाहरु दैलेख, सुर्खेत, सुदूरपश्चिमका कैलाली, कंचनपुर तथा मनाङ-मुस्ताङका जिल्लाहरुबाट किसान तथा व्यवसायीले स्टल बुक गरेका छन् । हिमाली तथा पहाडी जिल्लाबाट स्याउ, जडिबुटी, आलु, सेमी तथा विभिन्न गेडागुडी जस्ता कृषिजन्य बस्तुको बिक्रीका लागि स्टल बुक भएको श्रेष्ठले जनाए ।
‘एउटै थलोमा धेरै उत्पादनको प्रदर्शनी हुने भएकाले पनि यति धेरै जिल्लाका व्यवसायी र कृषकले महोत्सवमा आउन चाहनुभएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘यो अत्यन्त सुखद् पक्ष हो । हामीलाई यो महोत्सवले थोरै भए पनि वर्तमान आर्थिक सिथिलतालाई चिर्छ भन्ने विश्वास बढेको छ ।’
आयोजकका अनुसार महोत्सवको प्रायोजन तथा सह–प्रायोजन गर्नका लागि पनि धेरै उद्यमी–व्यवसायी र ठूला प्रतिष्ठान उत्साहित देखिएका छन् । ‘आर्थिक मन्दीले निराश बनाएको अवस्थामा पनि यो महोत्सवप्रति किसानदेखि व्यवसायी र उद्योगीको बढ्दो आकर्षणले हामीलाई हौसाएको छ’, संघका महासचिव कृष्णप्रसाद घिमिरेले भने, ‘बिगतमा प्रायोजन तथा सहप्रायोजन गरिदिने व्यवसायी पाउनै मुस्किल हुन्थ्यो । अहिले धेरैले इच्छा देखाउनु भयो ।’
संघका सचिव तथा प्रसारप्रसार समिति संयोजक मंगल भण्डारीले महोत्सवले व्यवसायिक प्रबद्र्धनका लागि गाउँबस्तीसम्म प्रचारप्रसार भइरहेकोले धेरै जिल्लाका उत्पादन भैरहवामा विक्रीका लागि ल्याइन लागेको जनाए ।

