
भैरहवा, १९ मंसिर । भैरहवास्थित अंचलपुरमा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ ।
आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर मंसिर २० गतेदेखि पुस १ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको जनाएको हो ।
Advertisement

Advertisement
Advertisement

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बजार चलायमन गराउन लगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो ।
भोली (बिहीवार) उद्घाटन हुने महोत्सवका लागि देवकोटाचोक देखि महोत्सव स्थल सम्म झाँकीसहित प्रर्दशन गरिने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ ।
‘संघको गठित ३३ वटा समिति र सबैको सहयोगले आयोजना गर्न लागिएको महोत्सवको सबै तयारी पुरा भइसकेको छ ’, सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले भने, ‘भोली देखि सर्वसाधरणहरुले अवलोकन गर्न सक्नेछन् ।’
उनले महोत्सवमा विभिन्न आर्कषणहरुका साथै ४० बढी जिल्लाका उत्पादन/सामग्री प्रर्दशनमा रहने बताए । महोत्सवमा मुस्ताङको स्याउँ देखि पहाडी जिल्लाका गेडागुँडी, जडीबुटीसम्मका स्थानीय उत्पादनहरु रहने उनले जनाए ।
महोत्सवमा रहेको तीन सय स्टल बुकिङ भइसकेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका सह संयोजक नेत्रप्रसाद आचार्य बताए ।
‘महोत्सवको सबै तयारी पुरा भएसँगै सबै स्टलहरु पनि प्याक भइसकेको छ । अझै पनि स्टलको माग भइरहेपनि उपलब्ध गराउने सक्ने अवस्थामा छैनौँ’, उनले भने, ‘अन्यत्र संचालन भइरहेको महोत्सव आयोजकले महोत्सवको म्याद थप गरेकोले केही स्टल व्यवसायी २१ गतेदेखि यहाँ आउने तय छ ।’
महोत्सवमा निःशुल्क माटो परिक्षण, टिकटक प्रतियोगिता, भैरहवा डान्स आइडल, भ्वाइस अफ भैरहवा प्रतियोगिता लगायत पनि हुने र महोत्सव संघको मात्रै नभएर सबैको साझा भएकोले सबैले अ-आफ्नो दायित्व निर्वाहका साथै प्रचारप्रसार गरिदिनका लागि संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले अपिल गरे ।

