


२२ भदौ, काठमाडौं। रामेछापमा वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार, उनीहरुले १८ भदौको राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई घरमै बन्धक बनाएर लुटपाट गरेका थिए । वृद्ध दम्पतीको मुखमा प्लास्टिकको टेप लगाएर आँखामा पट्टी बाँध्नुका साथै ज्यान मार्ने धम्की दिएर नगद तथा गरगहना लुटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एंव प्रहरी निरीक्षक कमल राउतले बताए ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद, मोबाइल, मोटरसाइकल, सुनका औँठी,बुद्धचित्त लगायतका सामग्री बरामद गरेको छ।
प्रहरी अनुसन्धानका क्रममा यही समूह रामेछापमा भएको अर्को चोरी तथा काठमाडौंमा सिक्री लुटपाटका घटनामा समेत संलग्न रहेको खुलेको छ । उनीहरुमध्ये केहीविरुद्ध यसअघि नै चोरी, अभद्र व्यवहार तथा जुवासम्बन्धी मुद्दा चलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यस्तै, यही समूहले १८ भदौकै बिहान रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।

