


काठमाडौं,२२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, चन्द्रागिरी–९ ग (साविका साविक मच्छेगाउँ–९ ग) मा रहेको जग्गाको भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकीमा कायम रहेको दर्ता श्रेस्ता हालसाबिक तथा प्लट मिलान गरिदिने भन्दै श्रेष्ठ र पार्धेले सेवाग्राहीसँग घुस रकम मागेका थिए।
नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र काम गरिदिन ५० हजार रुपैयाँ मागेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार दुवै कर्मचारीले घुस रकम आफूहरुले प्रत्यक्ष रुपमा नबुझी कार्यालय सहयोगीमार्फत लिनेसमेत सहमति गरेका थिए।
उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले ५० हजार रुपैयाँ बिगो मागदावीका साग मुद्दा दायर गरेको हो।

