


कपिलवस्तु,२२ भदौ । कपिलवस्तुमा पछिल्लो डेढ महिनाको अवधिमा लागुऔषधसम्बन्धी घटनामा १९ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एंव डीएसपी रीपेन्द्रकुमार सिंहका अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म विभिन्न सीमा नाकाबाट लागुऔषध ओसारपसारको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उक्त अवधिमा लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरेको छ। पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये केहीले पैदल हिँडेर तथा केहीले शरीरमा लागुऔषध बाँधेर सीमा नाकाबाट ओसारपसार गर्ने प्रयास गरेका थिए। उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उक्त अवधिमा लागुऔषधमा १३० ग्राम गाँजा, ५ किलो २२५ ग्राम चरेस, ३ ग्राम १५० मिलिग्राम हेरोइन, १० किलो ३६४ ग्राम अफिम र नाइट्राभेटका १० थान बरामद भएको जनाएको छ ।

