


काठमाडौं,२२ भदौ । नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले टनेलभित्र खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए। सरकारले काम रोक्ने निर्णय नगरेको अवस्थामा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने उनले स्पष्ट पारे।

सेनाका अनुसार, बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान गरिएको छ।
सहायक रथी थापाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको उनले बताए ।
त्यस्तै, त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा टनेलमा सेनाको टोली उद्धार सामग्री र उपकरणसहित निरन्तर खोजी कार्यमा खटिएको उनले बताए।
त्रिशूली–३ बी जलविद्युत आयोजनामा अडिट–२ बाट सेना टनेलभित्र प्रवेश गरी अडिट–१ बाट बाहिर निस्किएको छ। साथै, अडिट–२ को टनेलबाट एक्साभेटरलगायतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको थापाले जानकारी दिए।
यसैगरी, चिलिमे हाइड्रोपावरमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उपकरणको प्रयोग गरी टनेलमा जमेको लेदो हटाउने काम गरेको र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले थप खोजी कार्य गरिरहेको उनले बताए।
सहायक रथी थापाका अनुसार, जलविद्युत आयोजनाका टनेलमा भएको क्षतिको प्रारम्भिक आकलन गर्दा बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ।

