
भैरहवा, १९ मंसिर । के तपाईलाई शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थलसँगै बुद्धको जीवनमा आधारित अन्य पर्यटकीय स्थलहरु घुम्ने इच्छा छ ? तर, सबैस्थल कसरी जाने ? यातायातको व्यवस्थापन कसरी गर्ने ? लगायत चिन्ता लिनुभएको छ ? छ भने अब चिन्ता छाड्नुहोस् । सहज रुपमा बौद्ध स्थलहरुको भ्रमण गर्ने इच्छा छ भने बिहीवार देखि भैरहवास्थित अंचलपुरमा आयोजना हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा जानुहोस् । त्यहाँ सबै व्यवस्थापन गरिएको छ ।
महोत्सव आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले महोत्सव अवलोकन गर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकहरुलाई लक्षित गरेर बौद्धस्थलहरुको भ्रमण प्याकेज ल्याएको छ । मंसिर २० गते पुस १ गतेससम्म महोत्सव आयोजना हुँदैछ ।
Advertisement

Advertisement
Advertisement

प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायत बुद्धस्थलसँग सम्बन्धित क्षेत्र समेटिएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको जनाए । ‘यसले मेला भर्न आउने दर्शकलाई उत्साह थप्ने हामीले विश्वास गरेका छौं’, उनले भने, ‘ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी प्याकेज बनाइएको हो ।’
आयोजकका अनुसार टूर प्याकेजमा भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरिएको छ । टूर प्याकेज सामान्य अवस्थामा भन्दा ३०–४० प्रतिशतसम्म सस्तो हुनेछ । महोत्सवमा टिकट काटेका आधारमा छुट सुविधा दिइने अध्यक्ष श्रेष्ठले बताए । बेलहिया मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यहाँबाट मुलुक प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई मेलास्थलसम्म ल्याएर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको छ ।
‘महोत्सव अवधिमा बेलहियाबाट मुलुक भित्रिने पर्यटक मेला स्थलमा आएर टिकट काटेर अवलोकन गरेमा कम्तिमा हाम्रो उत्पादनको अन्तर्राष्ट्रिय रुपमा बजारीकरण हुन्छ भन्ने विश्वास छ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसैले टूर प्याकेजमा टिकट अनिवार्य गरिएको हो ।’ समूहमा आउने पर्यटकलाई टूर प्याकेजमा विशेष छुट समेत दिइने छ ।
टूर प्याकेजले महोत्सव र बुद्धसँग सम्बन्धित स्थलहरुको थप प्रचारप्रसार र प्रबद्र्धन हुने विश्वास लिइएको छ । ‘टूर प्याकेज लिन कति आउनुहुन्छ अहिल्यै भन्न सकिँदैन तर महोत्सवमा आएर प्याकेज लिएर घुम्दा पर्यटक र हामी सबैलाई फाइदा हुन्छ’, उनले भने, ‘यसैले हामीले केही ट्राभल एजेन्सीहरुलाई प्याकेजबारे प्रचारप्रसार गर्न अनुरोध गरेका छौं ।’
आयोजकले तेस्रो मुलुक र भारतीय पर्यटकले प्याकेज बढी मात्रामा लिने विश्वास गरेका छन् । प्याकेज पर्यटकले भने अनुसार समयावधिको हुने जनाइएको छ । महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव मंगल भण्डारीले भारतीय र तेस्रो मुलुकका पर्यटकले बुद्धस्थलसँग सम्बन्धित स्थलहरु बढीमात्रामा घुम्न खोज्ने भएकाले टूर प्याकेज धेरै विक्री हुने अनुमान गरिएको जनाए ।
उनका अनुसार महोत्सवबारे नजिकका भारतीय बजारहरुमा प्रचारप्रसार गरिएको छ । यसका साथै भारतीय विभिन्न एजेन्सी र व्यवसायीहरुमार्फत् विभिन्न सहरहरुमा महोत्सव र टूर प्याकेजबारे जानकारी गराइएको छ ।
महोत्सवमा निःशुल्क माटो परिक्षण, टिकटक प्रतियोगिता, भैरहवा डान्स आइडल, भ्वाइस अफ भैरहवा प्रतियोगिता लगायत पनि हुने र महोत्सव संघको मात्रै नभएर सबैको साझा भएकोले सबैले अ-आफ्नो दायित्व निर्वाहका साथै प्रचारप्रसार गरिदिनका लागि संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले अपिल गरे ।

