
भैरहवा, १९ मंसिर ।रुपन्देहीमा खुल्ला स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–२ का स्थानीय युवाहरुको आयोजनामा बुधवारदेखि सोही वडामा खुरहुरिया प्रियमियम लिग (केपिएल) अन्र्तगत क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खान लगायतले गरे । प्रतियोगिता स्थानीयस्तरको भएकोले यसमा गाउँको प्रतिनिधित्व गर्दै टिमहरुले सहभागीता जनाएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतियोगितामा २२ वटा गाउँको टिम सहभागी भएको र प्रतियोगिता एक हप्तासम्म जारी रहने आयोजक टिमका सदस्य मोबिन आलमले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेल १५ ओभरको हुनेछ ।
‘गाउँगाउँमा लुकेका प्रतिभाहरु हुन्छन् । जसले भविष्यमा खेलकुदको माध्यमले देशकै नाम उच्च राख्न सक्छन्’ उनले भने, ‘तर, गाउँका खेलाडीले आफ्नो प्रतिभा देखाउनका लागि प्लेटफर्म नपाउँदा हामीहरुले प्रतियोगिता आयोजना गरेर उनीहरुले एउटा प्लेटफर्म दिएका हौँ ।’

उनले यही प्रतियोगितामा कुनै खेलाडीको राम्रो प्रर्दशन गरे क्रमशः भविष्यमा सम्बन्धित खेलाडी मुलुककै प्रतिनिधित्व गर्दै विश्व माझ आफ्नो प्रतिभा देखाएर मुलुकको नाम उच्च राख्न सक्ने बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खानले आफुले खेलकुदको विकासका लागि कार्यहरु गर्दै आएको र गरिरहेने बताए । साथै, स्थानीयहरुले नै प्रतियोगिताको आयोजना गरेकोले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद बीस हजार रुपैयाँ, उपविजेताले दश हजार, हैट्रिक विकेट लिने दुई सय पचास, बेस्ट बलरले एक हजार र म्यान अफ द म्याचले मेडल पाउनेछन् ।
साथै, प्रतियोगितामा गाउँपालिका–२ स्थित मेरिट बोर्डिक पब्लिक हाई स्कूलका निर्देशक चन्द्रभान तिवारीले आयोजक खुरहुरिया टिमका खेलाडीहरुलाई १८ थान खेल पोसाक उपलब्ध गराउने घोषणा गरेको आयोजकले जनाएको छ ।

