


भैरहवा, २५ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ भोलि (बुधबार) देखि भैरहवाको पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा खेलकुद महोत्सव सुरु हुने भएको हो । परिवारको यो खेलकुद महोत्सव २३ औं संस्करण हो ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासका लागि तथा उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि यो खेलकुद महोत्सव आयोजना गरिएको बताए ।

उनका अनुसार महोत्सवमा १ हजार ३ सय विद्यार्थी सहभागी हुनेछन् । ३० जना कर्मचारीको रुपमा परिचालन गरिएको छ । विद्यार्थी, अभिभावक र अन्य समेत गरि करिव १४ हजार दर्शकले खेलको अवलोकन गर्नेछन् । खेलमा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई कक्षागत रुपमा तीन समूहमा बिभाजन गरिएको छ । जसमध्ये कक्षा १ देखि ३ सम्मलाई सवजुनियर, कक्षा ४ देखि ६ सम्मलाई जुनियर र ७ देखि १० सम्मलाई सिनियर तह छन् ।
यसैगरि उचाइको आधारमा सवजुनियर तहमा ४ दशमलव ६ फिटसम्म, जुनियर तहसम्म ५ दशमलव ३ फिट र सिनियर तहमा १८ बर्ष उमेर नपुगेको बिद्यार्थी खेलमा सहभागी हुन पाउने छन् । खेलकुद महोत्सवमा भलिबल र विभिन्न एथलेटिक्स खेल समावेश छन् । जसमा ५० मिटरदेखि ८ सय मिटरसम्मको दौड प्रतियोगिता पनि छन् ।
सर्टफुट, लङजम्प, रिले दौड प्रतियोगिता पनि समावेश छन् । खेलका सवै बिधामा छात्र र छात्रा दुवै टिमबाट प्रतिष्पर्धा गर्ने छन् । प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा सामूहिक बिद्यालय परिवारका संस्थापक सदस्य बिष्णु पन्थीले सिद्धार्थनगर नगरपालिकाले बिद्यार्थीलाई लक्षित गरेर खेलकुदका कार्यक्रम ल्याउन नसकेको बताए ।
सामूहिक बिद्यालय परिवारका पूर्वअध्यक्ष उदयकुमार मल्लिकले बिद्यार्थीलाई विभिन्न बिधाका खेलकुद संचालनका लागि खेल मैदानको अभाव झेल्नु परेको गुनासो गरे । सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणीमा रहेका २० वटा विद्यालयका विद्यार्थीहरु खेलकुद महोत्सवमा सहभागी हुँदैछन् ।

