
भैरहवा, २७ मंसिर । राजनीतिकरण हुँदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित तीन स्थानीय तहको फोहोरमैला व्यवस्थापनमा चुनौती भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
हाउजिङ्ग एण्ड टेनेन्ट्स अर्गनाइजेसन नेपालको आयोजना तथा सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाको सहकार्यमा भैरहवामा भएको फोहोरमैला व्यवस्थापन–चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले केही राजनीतिज्ञहरुले जनता उचाल्दा फोहोरमैला व्यवस्थापनमा समस्या सिर्जना भएको गुनासो गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा प्यानल डिस्कसन भएको थियो । प्यानल डिस्कसनमा तीनवटा स्थानीय तह (सिद्धार्थनगर नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकाको प्रमुखहरु) बीच फोहोरमैला व्यवस्थापनको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जग्गा खोजेर फोहोरमैलाको व्यवस्थापनको लागि प्रयास गरे पनि स्थानीय राजनीतिक दलले विरोध गरेका कारण सफल हुन नसकेको बताए । मेयर खाँले करिब १५ दिनमा फोहोरमैला व्यवस्थापनको समस्या समाधान गरिने बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले फोहोरमैला व्यवस्थापनको लागि तीनैवटा पालिका मिलेर रोहिणी करिब ८ बिगाहा जग्गाको व्यवस्थापन गरे पनि केही राजनीतिक दलका नेताहरुले जनता भड्काउने काम गरेका कारण अवरोध भएको बताए ।
ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले ओमसतिया गाउँपालिकामा पट्खौलीमा फोहोरमैला व्यवस्थापनको लागि खरिद भएको जग्गा त्यसक्षेत्रको धार्मिकस्थल सतियामाई मन्दिरको नजिकै पर्ने भएका कारण सहकार्य गर्न समस्या परेको बताइन् ।
सिद्धार्थनगर नगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० किलोमीटरभित्र फोहोरमैला व्यवस्थापन गर्न नमिल्ने भएका कारण नगरपालिका भन्दा बाहिर जग्गा खोज्नुपर्ने बाध्यता रहेको बताए ।
फोहोरमैला व्यवस्थापन गर्न जग्गा किनेर काम गर्न प्रयास पटकपटक गरे पनि स्थानीयको विरोधका कारण सम्भव हुन नसकेको उनले बताए । श्रेष्ठले नगरपालिकाले गर्न खोजेको काम नै नबुझी विरोध मात्र भएको गुनासो गरे । श्रेष्ठले डम्पिङ साइट नभएर प्रशोधन केन्द्रको रुपमा विकास गर्न खोजेको कुरा सबैले बुझ्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले फोहोरमैला व्यवस्थापनको लागि तीन तह एकैठाउँमा आएर अघि बढ्नु एकदमै सकारात्मक विषय भएको बताए । मन्त्री थापाले फोहोरमैला व्यवस्थापन स्थानीय तहले चाहे मात्र सम्भव हुने बताए । उनले फोहोरमैला व्यवस्थापनका लागि नागरिकस्तरमा सचेतनाको काम पनि जरुरी रहेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले एक वर्षभित्र आफूले फोहोरमैला व्यवस्थापनको विषय समाधान गर्ने गरी प्रयास गर्ने बताए ।
हाउजिङ्ग एण्ड टेनेन्ट्स अर्गनाइजेसन नेपालकी अध्यक्ष स्वाती थापाले फोहोरमैला व्यवस्थापन समयमै नभए भविष्यमा ठुलो चुनौती निम्तने खतरा भएको बताइन् । डण्डा नदी किनार अन्तर्राष्ट्रिय सीमा नजिकै फोहोर फाल्नु ठीक नभएको बताउँदै अध्यक्ष थापाले फोहोरमैला व्यवस्थापनको विषयमा गम्भिर भएर सोच्नुपर्ने बताइन् । थापाले फोहरमैला व्यवस्थापनको विषयमा राजनीतिकरण हुनु गलत भएको उनको भनाइ छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका पूर्व उपप्रमुख उमा काफ्ले, ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष हिरा केवट (राहुल), नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, एमाले नेता प्रदीप कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका पूर्व वरिष्ठ अधिकृत शेखरनाथ पन्थी लगायतले भनाइ राखेका थिए । पत्रकारद्वय नरेश के.सी. र एलिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

