


काठमाडौं, २४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको उनीमाथि आरोप छ।
अनुसन्धानका क्रममा केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भनिएको हाई स्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा कैद र जरिवाना सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ।

