


भैरहवा, २९ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीद्धारा आयोजित ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सम्पन्न भएको छ । मंसिर २६ देखि २९ गते चार दिनसम्म आयोजित महोत्सव अन्र्तगत भलिबल र एथलेक्टिसका खेलहरु भएका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले आयोजना गरेको खेलकुद महोत्सवले विद्यार्थीहरुको सर्वाङ्गीण विकाससँगै मनोबल बढाउन समेत सहयोग पुग्ने बताए।

भलिबल खेलको छात्र तर्फ सिबि पब्लिक हाई स्कूल प्रथम, न्यु इरा द्वितीय र लड बुद्ध तृतीय भएको छ भने सोही खेलको छात्रातर्फ मनकामना ईङ्गलिस हाई स्कूल प्रथम, सन्जिवनी द्वितीय र मिनर्वा ईङ्गलिस हाई स्कूल तृतीय भएको सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले बताए ।
उनका अनुसार एथ्लेटिक्स तर्फ विभिन्न विधाका खेलमा ६ स्वर्ण, २ रजत, ६ कास्य पदक प्राप्त गरी मनकामना ईङ्गलिस हाई स्कूल प्रथम भएको छ । त्यस्तै ५ स्वर्ण, २ रजत पदक प्राप्त गरी मिनर्वा ईङ्गलिस हाई स्कूल द्वितीय र ५ स्वर्ण, ३ कास्य पदक प्राप्त गरी स्पाङगल ईङ्गलिस स्कूल तृतीय भएको छ । प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
अध्यक्ष पाण्डेले २३ वर्षदेखि हुँदै आएको यो खेलकुद महोत्सवले थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको दावी गरे । खेल मैदानको अभावका कारण चुनौतीहरु झेल्नु परिरहेको भन्दै स्थायी रुपमा खेलमैदान भए खेलकुद महोत्सवलाई थप व्यवस्थित गराएर लैजान सकिने उनको भनाई छ ।
स्वास्थ्यका लागि खेलकुद जीवनका लागि खेलकुद भन्ने मूल नाराका साथ विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य साथ आयोजना गरिएको महोत्सवको उद्देश्य पुरा भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार चारदिन सम्म भएको महोत्सवमा भलिबल र एथलेटिक्स अन्र्तगत पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड, लङजम्प, र सटपुट खेलहरु भएका थिए।
एथलेटिक्स तर्फका खेल पक्लिहवा कृषि क्याम्पसमा र भलिबल खेल पक्लिहवा माविमा भएको थियो। सामूहिक विद्यालय परिवार रुपन्देहीमा सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणीमा रहेका २० वटा विद्यालयका विद्यार्थीहरु खेलकुद महोत्सवमा सहभागीता जनाएका थिए ।

