
भैरहवा, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्टसले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि उचालेको हो ।
मधेस प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी भएको बोल्टसले सुदूरपश्चिमले दिएको १ सय ८५ रन लक्ष्यलाई पछ्याउँदै १९.२ ओभरमा पाँच विकेटले जित हात पारेको हो।
Advertisement

Advertisement
Advertisement

जनकपुरको जितका लागि खेलाडी लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भए । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्।
जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाउन सफल भए । उनी सैफ जैबको बलमा क्याच आउट भए।
दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए।
१२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए। उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन्। त्यतिबेला ६६ रनमा खेलिरहेका थिए। उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए। उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए।
जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए।हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६९ रन बनाए।
अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४-१४ रन बनाए। स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३/३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए। जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ भने सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउन परेको छ ।

