


देउखुरी, ९ पुस ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की सँगको भेटमा उनले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।

‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’उनले भने ,‘मुल नाकाको साथसाथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैध कारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’
भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार, तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए। उनले सीमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामाग्रीहरु जफत भइरहेको जनाए।
यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्याउने कार्यलाई रोक लगाइएको उनले ब्रिफ गरे। ‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्णरुपमा खटिएका छौं’उनले भने,‘यी र यस्ता अवैध कारोबार हुन दिदैनौं ।’ हालै सम्पन्न प्रदेश सुरक्षा गोष्ठीबाट पनि सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिइएको थियो ।

