
भैरहवा, ११ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालय र वडा नम्बर २ जंगलटोलस्थित श्री बहिरा बाल माध्यमिक विद्यालयबीच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ।
विद्यार्थीहरुबीच भातृत्व, परिचय, सिकाई, प्रविधिको परस्पर साटासाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको श्री पक्लिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले बताए ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक विकासका साथै बौद्धिक विकासमा टेवा पुग्नुका साथै बाल–बालिकाहरुमा भएको मोबाइलको लत केही भएपनि हटाउन सकिने बताए ।
पक्लिहवा माविको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत छात्रतर्फ बहिरा बाल विद्यालयले पक्लिहवा मा.वि.लाई २५–१७, २५–१६ तथा छात्रातर्फको खेलमा बहिरा बाल विद्यालयले पक्लिहवा मा.वि.लाई २५–१०, २५–१६ को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको रेफ्रीको भूमिकामा शिक्षक विष्णु पन्थ, सहायक रेफ्रीमा शिक्षक गोविन्द गौतम, स्कोररमा शिक्षक प्रकाश भूर्तेल, लाइन्स मेनमा राज कुमार र जे.पी.मिश्रा रहेका थिए।
प्रतियोगितामा बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, पक्लिहवा मा.वि.का उप–प्राचार्य शेर बहादुर थापा, समाजसेवी अनिल कुमार के.सी., तेजेन्द्र गुरुङ्ग, मनिषा थापा लगायतको उपस्थिति रहेको थियो। दोस्रो चरणको भलिबल खेल क्रमशः बहिरा बाल विद्यालयको प्रांगणमा हुने बताइएको छ।


