


दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताए।

राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए।
‘गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा कमजोरी छ कि ? त्यसको समीक्षा गर्न जरुरी छ,’उनले भने,‘ढलान गर्नुपर्ने ठाउँमा कालोपत्रे गरेका छौं कि ? पहाडी क्षेत्रमा कालोपत्रे सडक टिकिरहेका छैनन् ।’
मुख्यमन्त्री आचार्यले तराई र पहाडका भौगोलिक अवस्थाअनुसार फरक विकास मापदण्ड अपनाउनुपर्नेमा जोड दिए।
पहाडी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरेर कम खर्चमा बढी उपलब्धी हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिए।
उनले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायीबाट प्रभावित नभई कानुन र मापदण्डअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए।
प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचारप्रसारसमेत आवश्यक रहेको उल्लेख गर्दै २०७४ सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए।
कार्यक्रममा मन्त्रालयका अधिकारी, विभिन्न निकायका प्रमुख तथा सरोकारवालाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका लागि गुणस्तरीय, दिगो र परिणाममुखी पूर्वाधार विकासमा जोड दिएका थिए। आयोजना बैंकलाई प्रभावकारी बनाउँदै योजना छनोट, कार्यान्वयन र अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो ।

